आठ जटिल रोगका बिरामीलाई अब स्वास्थ्य बीमाबाट २ लाखसम्म उपचार सुविधा
5 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २५ गते । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले अब आठ प्रकारका जटिल रोगको उपचारका लागि दुई लाख रुपैयाँसम्मको सहायता प्राप्त गर्न सक्ने भएका छन्। यसअघि प्रदान हुँदै आएको एक लाख उपचार खर्चमा थप एक लाख रुपैयाँ वृद्धि गरिएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै “कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट सुविधा विस्तार गरिएको” उल्लेख गर्नुभएको छ।
अबदेखि क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँ बराबरको उपचार सेवा लिन सक्नेछन्।यस निर्णयका लागि मन्त्रालयले पहिले नै स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरिसकेको थियो। मंगलबार राति बसेको बोर्ड बैठकले यस विषयमा निर्णय गरेको हो। निर्णय आगामी साउन १ गतेदेखि लागू हुनेछ।
सरकारको यो कदमले आर्थिक अभावमा उपचारबाट वञ्चित हुँदै आएका गम्भीर बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments