अनुमति बिना कक्षा सञ्चालन गर्ने १० निजी विद्यालय बन्द, सञ्चालक आक्रोशित

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २३ गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्दै आएका १० वटा निजी विद्यालय बन्द गरिएका छन्। उच्च अदालत जनकपुर राजविराज इजलासको आदेश अनुसार शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीले ती विद्यालयलाई बन्द गराएको हो। अदालतले वैशाख १९ मा अनुमति नलिई कक्षा सञ्चालन गर्ने विद्यालयलाई कारबाही गर्न आदेश दिएको थियो, जसअनुसार जिल्ला शिक्षा कार्यालयले अनुमति पाएका कक्षाबाहेक अन्य कक्षा सञ्चालनमा रोक लगाएको हो।

विद्यालय बन्द गरिएपछि सञ्चालकहरूले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले वर्षौँदेखि माथिल्लो कक्षाको अनुमति माग गर्दा पनि सम्बद्ध निकायबाट अनुमति नपाएको गुनासो गरेका छन्। वैष्णोदेवी बोर्डिङ स्कुलका सञ्चालक श्याम मण्डलसहित अन्य सञ्चालकहरूले शिक्षा ऐनअनुसार मापदण्ड पुरा गरिए पनि केवल आश्वासन मात्रै पाएको र अहिले आएर पठनपाठन नै बन्द गराइएको भन्दै पत्रकार सम्मेलनमार्फत आपत्ति जनाएका हुन्। सञ्चालकहरूको भनाइमा मापदण्डअनुसार आवेदन दिएर पनि अनुमति नपाउँदा हजारौँ विद्यार्थीको भविष्य जोखिममा परेको छ। तर, शिक्षा शाखा प्रमुख हरिनारायण साहले भने मापदण्ड पूरा गरेका विद्यालयलाई मात्रै अनुमति दिइएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?