जनकपुरधाम, असार ११ गते । जनकपुरधाममा आयोजित दुईदिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ को उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विद्यालय व्यवस्थापन समितिहरू नै विद्यालय शिक्षा सुधारको प्रमुख बाधक बनेको टिप्पणी गर्नुभयो। उहाँले समितिहरू शिक्षक नियुक्ति, विद्यार्थी खाजा कार्यक्रम र बजेट सञ्चालनमा मात्र केन्द्रित हुने गरेको आरोप लगाउँदै यस्तो प्रवृत्तिले शिक्षामा गुणात्मक सुधार असम्भव हुने बताउनुभयो। वर्तमान एआई प्रविधिको युगमा पाठ्यक्रमलाई ज्ञान, सिप र प्रविधिसँग मेल खाने गरी सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षामा सुधारका लागि अभिभावक, शिक्षक, समाजसेवी तथा सबै सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको औंल्याउनुभयो।
सम्मेलनमा अन्य वक्ताहरूले पनि शिक्षाको विविध पक्षमा चिन्ता व्यक्त गरे। भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मधेशमा गुणस्तरीय शिक्षामा ह्रास आएको र परीक्षा प्रणालीमा त्रुटि रहेको बताउनुभयो भने श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले विषयगत शिक्षक अभावले सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको उल्लेख गर्नुभयो। नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले प्रदेश सरकारले शिक्षा नीति पारित गरिसकेको जानकारी दिँदै शिक्षामा समान पहुँच, गुणस्तर र रोजगारीमूलक शिक्षा चुनौती बनेको बताए। सम्मेलनको अध्यक्षता गर्दै शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले सुधारका लागि बजेट अपुग भएकाले यथोचित बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो। सम्मेलनले सातबुँदे अपेक्षित नतिजा दिने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments