वीरगञ्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्बको पेट्रोलियम आयात, राजस्व भने वृद्धि

10 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ८ गते । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ। आयातमा डिजेल, पेट्रोल, एलपी ग्यास, एटिएफ (हवाई इन्धन) र मट्टितेल समावेश छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसपालि कुल पेट्रोलियम आयात मूल्य एक अर्ब ६ करोडले घटेको छ। यद्यपि आयात घट्दासमेत उक्त अवधिमा प्राप्त राजस्व भने ११.६६ प्रतिशतले बढेर ७३ अर्ब १८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ६५ अर्ब ५४ करोडभन्दा सात अर्ब ६४ करोडले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार डिजेल, पेट्रोल र एलपी ग्यासको मूल्य र मात्रामा केही ह्रास आए पनि राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। चालु वर्षमा डिजेलबाट ४१ अर्ब, पेट्रोलबाट २३ अर्ब ३८ करोड, ग्यासबाट ६ अर्ब २४ करोड, एटिएफबाट २ अर्ब ३५ करोड र मट्टितेलबाट १६ करोड राजस्व उठाइएको छ। विशेषगरी एलपी ग्यासको मात्रामा र मूल्य दुबैमा उल्लेख्य वृद्धि देखिएको छ। एटिएफ र मट्टितेलको आयात भने अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। समग्रमा आयातमा सामान्य गिरावट देखिए पनि भन्सार राजस्व संकलन सुदृढ देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?