ग्राहकलाई ठगी गर्ने बैँकलाई तुरुन्त कारबाही गर्ने गभर्नर पौडेलको चेतावनी

14 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३ गते । नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैँकले ग्राहकलाई ठगी गरेको पाइएमा कुनै पनि प्रकारको छुट नदिई तुरुन्त कारबाही गरिने स्पष्ट चेतावनी दिनुभएको छ। जनकपुरमा नेपाल राष्ट्र बैँकको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैँक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूसँग भएको छलफलमा गभर्नर पौडेलले सर्वसाधारणको सम्पत्ति जोगाउन र ऋणको पहुँचलाई व्यापक बनाउन राष्ट्र बैँक प्रतिबद्ध रहेको बताउनुभयो।

छलफलमा धनुषाका व्यापारीहरूले बैँकहरूले ऋणीलाई अनावश्यक झन्झटमा पारेर धितो लिलाम गर्ने गरेको गुनासो गरेपछि गभर्नरले यस्तो चेतावनी दिनुभएको हो। कार्यक्रममा सहभागी व्यवसायीहरूले साना व्यवसायी तथा किसानलाई ऋण प्रवाहमा बेवास्ता गरिने, तर धनी वर्गमा सीमित हुने गरेको गुनासो गरे। गभर्नर पौडेलले धनी र गरिबबीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्राथमिकता भएको बताउँदै कम नियम, बढी सुपरिवेक्षणको अवधारणा अनुसार काम गरिने जानकारी दिनुभयो। बैँक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण असुली चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?