मधेस प्रदेशको बजेट आज प्रस्तुत हुँदै, कृषि र पूर्वाधारमा प्राथमिकता

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १ गते । मधेस सरकार आज आइतबार दिउँसो ४ बजे प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्न लागेको छ। आर्थिक मामिला तथा योजना मन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रदेश सरकारका अनुसार बजेट कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारजस्ता प्राथमिक क्षेत्रहरूलाई लक्षित हुनेछ। चालु आवमा ४३ अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश सरकारले यस वर्ष पनि त्यसै हाराहारीको आकारको बजेट ल्याउने तयारी गरेको हो।

यद्यपि चालु आर्थिक वर्षमा बजेट खर्चमा उल्लेखनीय कमजोरी देखिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका अनुसार हालसम्म जम्मा २०.२६ प्रतिशत मात्र बजेट खर्च भएको छ, जसमा पुँजीगत खर्च १३ प्रतिशत र चालु खर्च ३२ प्रतिशत रहेको छ। यसपटक प्रदेश सरकारले कृषिलाई समृद्धिको मेरुदण्ड मानेर बीउ-बिजनको सुनिश्चितता, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ तथा भण्डारण पूर्वाधार विकास र बजारिकरणलाई प्राथमिकता दिने योजना बनाएको छ। युवालाई कृषितर्फ आकर्षित गर्ने, सहकारी तथा निजी क्षेत्रको सहकार्यमा नवप्रवर्तनशील कार्यक्रम ल्याउने रणनीति समेत तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?