जनकपुरधाम, जेठ २८ गते । जनकपुरमा लगातार बढिरहेको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयहरूमा जेठ २९ र ३० गते दुई दिनको 'गर्मी बिदा' दिने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धीरेन्द्र लाल कर्णका अनुसार अत्यधिक तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि बिदा दिनु परेको हो। यसअघि मधेस प्रदेश सरकारले कबिर जयन्तीको अवसरमा बुधबार (जेठ २८) सार्वजनिक बिदा दिएको थियो, जसले गर्दा यहाँका विद्यालयहरू लगातार तीन दिनसम्म बन्द हुने भएका छन्।
धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद माध्यमिक विद्यालयमा मंगलबार गर्मीका कारण कक्षामा अध्ययनरत २० जना विद्यार्थी बेहोस भएका थिए। तीमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएपनि सामान्य उपचारपछि उनीहरू घर फर्किएका छन्। उक्त घटनापछि सबैला नगरपालिकाले पनि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। पछिल्ला केही दिनयता मधेसमा तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ भने जनकपुरमा बुधबार बिहानैदेखि तापक्रम ३४ डिग्री सेल्सियसभन्दा माथि छ, जसले जनजीवन प्रभावित बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments