प्रधानमन्त्री ओली आज जनकपुरधाममा, राजर्षिजनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुने
23 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २७ गते । प्रधानमन्त्री एवं राजर्षिजनक विश्वविद्यालयका कुलपति केपी शर्मा ओली आज मङ्गलबार जनकपुरधाम आउनु हुँदैछ। उहाँ विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहमा सहभागी हुन जनकपुरधाम आइपुग्न लाग्नुभएको हो।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आज आयोजना हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ। केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रका अनुसार तीन ब्याचमा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण ११५ जना विद्यार्थी दीक्षित हुनेछन्।
२०७४ साल कात्तिक १२ गते स्थापना भएको राजर्षिजनक विश्वविद्यालयअन्तर्गत हाल चार सङ्कायमा १३ शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। विश्वविद्यालयमा एमफिल, एमबिए, बिबिए, बिडिबिएम, बिई सिभिल, बिआइटी, बिसिए, बिएस्सी–सिएसआइटी, बिपिएच, बिएस्सी–एमएलटी, बिएस्सी–एजी, बिए–एलएलबी र बिजेएमसी कार्यक्रम उपलब्ध छन्।
२०८२ जेठ ५ गतेसम्म ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीले दीक्षान्त कार्यक्रममा सहभागी हुन फारम भर्ने व्यवस्था गरिएको थियो। समारोहमा विश्वविद्यालयस्तरमा उत्कृष्ट चार जना र विभिन्न सङ्काय तथा कार्यक्रमहरूमा उत्कृष्ट हुने १०–१० जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ। हालसम्म विश्वविद्यालयसँग पाँच आङ्गिक क्याम्पस र ६८ वटा सम्बन्धन प्राप्त निजी क्याम्पसहरू छन्।
कमेन्ट गर्नुहोस्
view comments