नारायणी अस्पतालको आईसीयू–सीसीयूमा तीन घण्टा विद्युत् अवरोध, १७ बिरामीको ज्यान जोखिममा
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १८ गते । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसीयू र सीसीयूमा शुक्रबार राति करिब साढे दुई घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुँदा १७ जना गम्भीर अवस्थाका बिरामीको ज्यान जोखिममा पर्यो। राति १० बजेदेखि १ बजेसम्म विद्युत् सेवा बन्द हुँदा ती कक्षका सबै जीवनरक्षक उपकरण ठप्प भए। बिरामीहरू छटपटाउँदै गर्दा अस्पतालले तत्कालीन विकल्पको रूपमा जेनरेटर पनि सञ्चालन नगरेको जनाइएको छ। अस्पताल प्रशासन, प्राविधिक टोली र नेतृत्व तहको लापरवाहीका कारण न त उपकरण चलाइयो, न त बिरामीलाई सहज बनाउने कुनै आपतकालीन उपाय अपनाइयो।
घटनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी प्रमुख गौतम मिश्रलगायत सरोकारवाला निकायबीच आकस्मिक बैठक बसेको थियो। बैठकमा गम्भीर लापरवाहीप्रति चिन्ता व्यक्त गर्दै प्रजिअ अर्यालले यस्तो संवेदनशील स्थानमा तीन घण्टाको अन्धकार स्वीकार्य नहुने बताए। प्राविधिक अभाव तत्काल हटाउन र २४ घण्टा ड्युटीमा कर्मचारी खटाउने निर्देशन दिइयो। अस्पताल विकास समितिका अध्यक्षले सर्ट सर्किटका कारण समस्या आएको स्वीकार गर्दै यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाए पनि बिग्रिएको जेनरेटर, वैकल्पिक योजना नहुनु र नेतृत्वको गैरजिम्मेवारीले नारायणी अस्पतालमा सेवा र सुरक्षा दुवैप्रति गम्भीर प्रश्न उठाएको छ।
कमेन्ट गर्नुहोस्
view comments