शल्यक्रियापछि चार महिनादेखि अचेत पविता यादव : परिवारको उपचारमा लापरवाहीको आरोप, दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग
5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ७ गते । पित्तथैलीको शल्यक्रियापछि लगातार चार महिनादेखि अचेत अवस्थामा रहेकी सर्लाहीकी २५ वर्षीया पविता यादवको उपचारमा लापरवाही भएको भन्दै उनका परिवारले जनकपुरस्थित मुस्कान अस्पताल, त्यसका सञ्चालक, शल्यक्रिया गर्ने चिकित्सक डा. ज्ञानकुमार साह लगायत पाँचजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन्। अस्पताल दर्ता नै नभएको, स्वास्थ्य सहायकद्वारा खोलिएको, र जनकपुरकै सूर्या अल्ट्रासाउण्डका सञ्चालक सुशील यादवको दबाबमा पवितालाई उपचारका लागि पठाइएको उल्लेख जाहेरीमा छ। शल्यक्रियापछि होस नआएको र रिपोर्ट हेर्नेसम्म चिकित्सक नभएको विवरण जाहेरीमा उल्लेख छ।
पविताका पति अंगेश यादवले गाउँबाट ऋण र सापटी उठाएर हालसम्म उपचारमा १० लाखभन्दा बढी खर्च भइसकेको बताएका छन्। आर्थिक अभाव, उपचारको दबाब र सरकारी निकायबाट कारबाहीको ढिलाइले पीडित परिवार गम्भीर मानसिक र सामाजिक समस्यामा परेको छ। पविताका बुबा, पति र आफन्तले दोषीमाथि कारबाही, उपचारको क्षतिपूर्ति र आगामी उपचारका लागि सरकारी सहयोगको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा सक्रियता देखाउन आग्रह गरेका छन्। प्रहरी र नेपाल मेडिकल काउन्सिलले अनुसन्धान अघि बढाएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments