सप्तरीका दुई पालिकामा अनुमति बिना आठ विद्यालय सञ्चालन, अनुगमनपछि कारबाहीको तयारी
3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ३१ गते । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकामा अनुमति बिना आठ वटा विद्यालय सञ्चालनमा रहेको पाइएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले वैशाख २८ गतेदेखि सुरु गरेको स्थलगत अनुगमनका क्रममा यी विद्यालयहरूले तोकिएको भन्दा माथिल्लो तहसम्मको कक्षा सञ्चालन गरिरहेको खुलेको हो। कञ्चनरुप नगरपालिकाका ब्राइट फ्युचर एकेडेमी र माउन्ट एभ्रेष्ट विद्यामन्दिरले क्रमशः कक्षा ३ र ६ को अनुमति लिएर ७ र ८ कक्षासम्म पठनपाठन गराउँदै आएका थिए। उता, हनुमाननगर कंकालिनी नगरपालिकामा शिक्षादीप बोर्डिङ, गौतम बुद्ध आइडियल, ग्रीन ल्याण्ड एकेडेमी, आनन्द प्राइभेट एजुकेसनल गुठी, आरपी मेमोरियल स्कुल र ब्राइट फ्युचर एकेडेमीले पनि मापदण्ड विपरीत कक्षा सञ्चालन गरिरहेका थिए।
उच्च अदालत जनकपुरको आदेशअनुसार अनुमति बिना थप कक्षा सञ्चालन गर्न रोक लगाइएकोले समन्वय इकाईले निगरानी कडा बनाएको हो। शाखा अधिकृत कमलनाथ यादवका अनुसार, विद्यालयहरूलाई ‘अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्नुस्, नभए बन्द गर्नुस्’ भन्ने स्पष्ट निर्देशन दिइएको छ। पहिलो चरणको अनुगमनपछि विद्यालयहरूलाई सुधारको मौका दिइएको छ भने दोस्रो चरणमा कानुनी कारबाहीसमेत अघि बढाइने चेतावनी दिइएको छ। निरीक्षण टोलीमा शिक्षा इकाईका यादव, शिक्षा शाखा प्रमुख हरिनारायण साह र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शिवनाथ मण्डल सहभागी थिए।
कमेन्ट गर्नुहोस्
view comments