रौतहटका ६ स्थानीय तहको आर्थिक कारोबार प्रणाली ‘सूत्र’ लक, विद्युतीय भुक्तानी नगरेपछि कारबाही
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ३१ गते । रौतहट जिल्लाका १८ मध्ये ६ स्थानीय तहको आर्थिक कारोबार प्रणाली ‘सूत्र’ को पहुँच रोकिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले विद्युतीय भुक्तानी प्रणाली प्रयोग नगरेको भन्दै ईशनाथ, गढीमाई, फतुवा विजयपुर, वृन्दावन, यमुनामाई र राजपुरका स्थानीय तहको कारोबार प्रणाली बन्द गरेको हो। प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार बारम्बार निर्देशन दिँदासमेत अटेरी गरेपछि बाध्य भएर प्रणाली लक गरिएको हो। महालेखा नियन्त्रक कार्यालयले ‘सूत्र’ प्रणालीमार्फत पारदर्शी ढंगले रकम भुक्तानी गर्न निर्देशन दिँदै आए पनि केही पालिकाले अझै चेक प्रणालीमै अडिएको कोष कार्यालयले जनाएको छ।
गौतमका अनुसार पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम गर्न विद्युतीय भुक्तानी अनिवार्य गरिएको हो, तर कतिपय स्थानीय तहहरूले उपभोक्ता समितिसँग मोलमोलाई गर्न चेकमार्फत भुक्तानी गर्न खोज्दा समस्या देखिएको छ। फतुवा विजयपुरले अहिलेसम्म एकपटक पनि विद्युतीय भुक्तानी नगरेको र ईशनाथले चालू आर्थिक वर्षको १० महिनामा जम्मा ९६ हजार ५२० रुपैयाँ मात्र विद्युतीय माध्यमबाट कारोबार गरेको तथ्य सार्वजनिक गरिएको छ। यस्तो व्यवहारका कारण अबदेखि चेक काट्ने अवस्था बाहेक कुनै पनि चेक काटिएमा सम्बन्धित तहको ‘सूत्र’ प्रणाली लक गरिने चेतावनी कोष कार्यालयले दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments