विद्युत् मन्त्री खट्टर नेपालमा: कोशी कोरिडोर उद्घाटन, ऊर्जा सहकार्यमा नयाँ अध्याय
6 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख ९ गते । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार बिहान नेपाल आइपुगेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा आएको यस भ्रमणको पहिलो दिन खट्टरले संखुवासभाको तुम्लिङटारस्थित कोशी कोरिडोर २२० केभी प्रसारण लाइन तथा इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार खण्डमा निर्माण सम्पन्न सबस्टेसनहरूको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। यसका अतिरिक्त, उनले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको निरीक्षणसमेत गर्नेछन्।
भ्रमणका क्रममा नेपाल–भारत ऊर्जा सहकार्यलाई थप मजबुत पार्ने उद्देश्यले दुई मुलुकका सरकारी निकायहरूबीच महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुनेछन्। नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसँगै संयुक्त लगानीमा स्थापनाको तयारीमा रहेको कम्पनीसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गरिनेछ। खट्टरले दोस्रो दिन मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भ्रमणको अन्त्यमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरी स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments