शनिबार र आइतबार देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
20 दिन पहिले प्रकाशित

काठमाडौं, बैशाख ४ गते । आगामी शनिबार र आइतबार देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सञ्चालित ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई यो क्याप्सुल खुवाइनेछ। सोही अवसरमा एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधिसमेत दिइनेछ।
कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न देशभर ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ। बालबालिकामा भिटामिन ‘ए’ को अभावबाट हुने रोगको रोकथाम गर्न सरकारले २०५० सालमा आठ जिल्लाबाट सुरु गरेको यो कार्यक्रम २०५९ सालदेखि देशभर लागू गरिएको हो। त्यस्तै, जुकाको औषधि वितरण कार्यक्रम २०५६ सालमा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि सबै जिल्लामा कार्यान्वयनमा ल्याइएको हो।
साथै, बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गर्न कुपोषण परीक्षणसमेत सोही दिन गरिनेछ। सरकारले २०६४ सालदेखि बालभिटा कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि निःशुल्क वितरण गरिँदै आएको छ, जसले बालस्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments