जनकपुरधाम, बैशाख ४ गते । सर्लाहीको दक्षिण–पश्चिमी व्यापारिक केन्द्र बरहथवा बजारमा सञ्चालनमा रहेका सम्पूर्ण निजी अस्पताल तथा पोलिक्लिनिकहरू स्वास्थ्य मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। बुधबार साँझ मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बरहथवामा रहेका ११ वटा निजी स्वास्थ्य संस्थाहरूको अनुगमन गरी ती सबैलाई तत्काल बन्द गर्न निर्देशन दिनुभएको हो।
मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगरेका तथा कानुनी दर्ता नभएका संकट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, नवजीवन अस्पताल लगायतका पोलिक्लिनिकहरू बन्द गर्न आदेश दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार ती संस्थाहरूलाई पत्रमार्फत बन्द गर्न निर्देशन दिइएको छ, साथै दर्ता र आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र पुनः सञ्चालन गर्न पाउनेछन्।
बरहथवास्थित गोल्डेन अस्पतालमा एक बिरामीसँग अत्यधिक बिल उठाएको विषयमा स्थानीयको विरोध र त्यसपछि उत्पन्न तनावपछि मुख्यमन्त्री सिंह स्वयम् अनुगमनमा पुगेका थिए। यसअघि पनि सिंहले सर्लाही जिल्लाको नवलपुर, लालबन्दी र मलङ्गवाका अस्पतालहरूमा अनुगमन गरी मापदण्ड नपुगेकालाई बन्द गर्न निर्देशन दिएका थिए। तर स्थानीयहरू खुलेआम मापदण्डविपरीतका अस्पताल पुनः सञ्चालनमा रहेको गुनासो गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments