मधेश प्रदेशमा चैत ७ देखि एसइई परीक्षा: ८८,८५८ विद्यार्थी सहभागी हुने

27 दिन पहिले प्रकाशित

जनकपुरधाम, फागुन २७ गते । आगामी चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८८,८५८ विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका अनुसार, परीक्षाका लागि ३१२ परीक्षा केन्द्र तोकिएको छ, जसमा १,२३१ विद्यालयका विद्यार्थी सहभागी हुँदैछन्। धनुषा जिल्लाबाट सबैभन्दा बढी १३,६५४ विद्यार्थी सहभागी हुनेछन् भने सप्तरीबाट सबैभन्दा कम ८,७१५ विद्यार्थी सहभागी हुनेछन्।

परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गर्न ३१२ केन्द्राध्यक्ष, ४५९ सहायक केन्द्राध्यक्ष, ४,३७० निरीक्षक, ७५५ परीक्षा सहायक र १,६६६ कार्यालय सहयोगी खटाइने छन्। साथै, ४,६८० सुरक्षाकर्मी र १२,२४२ कर्मचारी परिचालन गरिने निर्देशनालयले जनाएको छ। सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक ठुलोबाबु दाहालले परीक्षाका लागि आवश्यक तयारी भइरहेको र आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण तथा अनुगमन गर्ने जानकारी दिनुभयो। प्रदेश सरकारले परीक्षालाई मर्यादित बनाउन अनुगमन गर्ने भएको छ। मुख्यमन्त्री सतीसकुमार सिंहले परीक्षा केन्द्रको सुरक्षाका लागि मुख्य गेटमा सिसीटिभी क्यामेरा जडान गर्न सुझाव दिएका छन्। चोरी गर्नेहरूलाई कारबाही गरिने र परीक्षामा मोबाइल लगे जफत गरी फिर्ता नदिइने नियम लागू गरिने छ। साथै, उत्कृष्ट व्यवस्थापन गर्ने केन्द्राध्यक्षलाई प्रदेश सरकारले पुरस्कृत गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?