मोतीहारी-अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलियम आयातको परीक्षण सुरु
3 दिन पहिले प्रकाशित
काठमाडौं, पुस १४ गते । भारतको मोतीहारीदेखि नेपालका बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ आयातका लागि निर्माण गरिएको पाइपलाइनमार्फत परीक्षण प्रक्रिया सुरु भएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यका अनुसार, पाइपलाइन विस्तारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ र परीक्षणका लागि पाँच हजार पाँच सय केएल पेट्रोल तथा एक हजार केएल मट्टितेल आयात गरिएको छ। जनवरी २०२५ देखि नियमित आयात गर्ने लक्ष्य भए पनि केही दिन ढिला हुन सक्ने उनले बताए।
पाइपलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगन्जस्थित डिपोमा अत्याधुनिक पूर्वाधारहरू निर्माण गरेको छ। यसमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्यांक, दुई सय ५० किलो लिटरका ट्रान्समिक्स ट्यांक, पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशालासहितका सुविधाहरू रहेका छन्। फायर फाइटिङ सिस्टमको स्तरोन्नति, ओडब्ल्यूएस प्रणाली, र पीएमसीसी कक्ष निर्माण परियोजनाका अन्य महत्वपूर्ण अंग हुन्। परीक्षणपछि पाइपलाइनबाट नियमित पेट्रोलियम आपूर्ति गर्ने तयारी भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments