पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सुरु
3 दिन पहिले प्रकाशित
काठमाडौं, पुस ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्लोबल एलायन्स (गाभी)को सहयोगमा पाठेघरको मुखको क्यान्सरविरुद्धको 'ह्युमन पापिलोमा भाइरस' (एचपिभी) खोप नेपाल भित्र्याएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीका अनुसार, हाल नेपालमा ४ लाख ६० हजार ९४० मात्रा खोप भण्डारण गरिएको छ, जसलाई क्रमिक रूपमा विभिन्न प्रदेशमा पठाइनेछ। सरकारले किशोरीहरूलाई सानै उमेरमा क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेदेखि १५ दिने खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ।
अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका किशोरीहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप दिइनेछ। बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, गाभीले नेपाललाई १७ लाख ७० हजार मात्रा खोप उपलब्ध गराउनेछ। नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सर हो, जसका लागि प्रमुख कारण ह्युमन पापिलोमा भाइरस संक्रमण हो। यस्तो संक्रमण कलिलो उमेरमा विवाह, धेरै बच्चा जन्माउने, यौन स्वच्छता नअपनाउने, तथा धूम्रपान र मद्यपानको कारणले हुने बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments