दीपावली र छठसँगै माटाका भाँडाको व्यापार फस्टायो

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ८ गते । दीपावली र छठ पर्वको आगमनसँगै मधेशका बजारहरूमा माटाका भाँडावर्तनले विशेष स्थान पाएको छ। धार्मिक विश्वास र परम्परागत प्रचलनका कारण माटाका तौला, दियो, छ्याँची, घडा, अम्खोरा, तथा छठपछिको सामाचकेवा पर्वका लागि हात्ती र खेलौनासम्मका सामग्रीले हाटबजार सजिएका छन्।

यी भाँडाहरू विशेषगरी धार्मिक अनुष्ठानमा प्रयोग हुने भएकाले पर्वका समयमा क्रयविक्रय उच्च भएको छ। कुम्हालहरूले चक्र घुमाउँदै भाँडा बनाउने कार्यलाई तीव्रता दिएका छन्, किनकि यिनै सामानले उनीहरूको चाडपर्वको खर्च धानिन्छ।  सामान्य अवस्थामा प्लाष्टिक र धातुका भाँडाको प्रयोग बढे पनि दीपावली र छठमा धार्मिक मान्यताले माटाका भाँडाहरूको माग पुनः वृद्धि भएको हो।

मिथिलाका संस्कृतिविद्का अनुसार, वैदिक परम्परा र पवित्रताको भावले गर्दा पर्वमा नयाँ माटाका भाँडाहरू प्रयोग गर्नु अनिवार्य मानिन्छ। महोत्तरीका विभिन्न बजारमा पछिल्लो तीन वर्षमा माटाका भाँडाहरूको वार्षिक कारोबार ५० लाख रुपैयाँ हाराहारीमा रहेको छ। बर्दिबास क्षेत्रमै मात्रै १५ लाखको कारोबार हुने गरेको बताइन्छ, जसले कुम्हाल समुदायलाई आर्थिक सम्बल प्रदान गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?