वीर अस्पतालले जलन उपचार सेवा पुनः सुरु: १० बेड, ५ आईसीयू सहित बर्न सेन्टर उद्घाटन

3 महीना पहिले प्रकाशित

काठमाडौं , भदौ २८ गते ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रवारदेखि जलन पीडित बिरामीका लागि बर्न वार्ड सेवा पुनः सुरु गरेको छ। २०७२ सालको विनाशकारी भूकम्पपछि बन्द रहेको यो वार्डले सामान्य जलनका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गरेको हो। वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार यो केन्द्रलाई "डा. केडी जोशी जलन उपचार केन्द्र" को नाम दिइएको छ, जसमा १० जनरल बेड, ५ आईसीयू, र तीनवटा अपरेसन थिएटर समावेश छन्।

नेपालमा जलन उपचारको सुरुवात २०४३ सालमा वरिष्ठ प्लास्टिक सर्जन डा. केशवदास जोशीले वीर अस्पतालमै गरेका थिए। उनको योगदानलाई कदर गर्दै अस्पतालले यो केन्द्रलाई उनको नाममा नामकरण गरेको हो। "अबदेखि जलनका बिरामीलाई आवश्यक सम्पूर्ण उपचार सेवा वीर अस्पतालमै उपलब्ध हुनेछ। बिरामीलाई अन्य अस्पताल वा विदेशमा रेफर गर्नुपर्ने अवस्था समाप्त हुन्छ," डा. पौडेलले भने।

नेपालमा जलनको समस्या विशेषगरी विपन्न र दुर्गम क्षेत्रका जनतामा भयावह देखिएको छ। नेपालमा जलन पीडितको मृत्यु दर विश्वका विकसित देशहरूको तुलनामा उच्च छ, जहाँ विकसित मुलुकहरूमा ९० प्रतिशतसम्म जलेका बिरामीलाई बचाउन सकिन्छ, नेपालमा भने ४० प्रतिशत जलेका बिरामीको उपचार पनि कठिन छ। वीर अस्पतालले सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने घोषणा गर्दै, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जलन पीडितलाई एक लाख रुपैयाँ सहुलियत दिने सरकारको नीति जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?