मुख्यमन्त्री सिंहको छड्के जाँचमा जलेश्वर अस्पतालका चिकित्सक अनुपस्थित, कडा निर्देशन जारी
4 महीना पहिले प्रकाशित
जलेश्वर,भदौ १० गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ। आइतबार राति अस्पतालको आकस्मिक वार्डमा निरीक्षण गर्ने क्रममा मुख्यमन्त्री सिंहले ड्युटीमा रहेका चिकित्सकहरूको चार्ट नदेखिएको र अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेको जानकारी दिए। जलेश्वर अस्पताललाई सधैँ ‘रेफर’ अस्पतालका रूपमा सुनेको र चिकित्सकहरू ‘अनकल’ मा मात्र आउने गरेको सूचना पाएपछि उनले यो निरीक्षण गरेका थिए। मुख्यमन्त्री सिंहले छड्के निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अस्पतालमा ड्युटीमा रहेका चिकित्सकहरूले अबदेखि आफ्नो ड्युटी अवधिभर अस्पतालमै बस्नुपर्ने निर्देशन दिए। उनले अस्पतालको ड्युटी समयमा निजी क्लिनिक वा अन्य अस्पतालमा जाने चिकित्सकलाई कारबाही गरिने चेतावनी पनि दिए। साथै, स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्न कसैलाई छुट नभएको बताउँदै, अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित उपस्थित हुनुपर्ने, सरसफाइ तथा व्यवस्थापन मापदण्डबमोजिम गरिनुपर्नेमा पनि जोड दिए।
कमेन्ट गर्नुहोस्
view comments